१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेपाल टी-२० मा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित



काठमाडौं ।

शाड्ली भान सालवायकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

सालवायकले अलराउण्ड प्रदर्शन गरेपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले दिएको १३४ रनको लक्ष्य अल स्टार्सले अन्तिम बलमा ७ विकेट गुमाएर १३५ रन बनाउँदै पूरा गरेको हो ।

अल स्टार्सका लागि कुशल भुर्तेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए ।

यस्तै उन्मुक्त चन्दले २२, अनिल शाहले १९ र गुलशन झाले १० रन जोडे । अल स्टारको जितमा नायक बनेका शाड्लेले ११ बल खेल्दै चार छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

अन्तिम ओभरमा अल स्टार्सलाई जितका लागि ८ रन आवश्यक थियो । तर पहिलो बलमा अनिल साहको विकेट गुमाएको अल स्टार्सले पाँच बल सकिँदा जम्मा ३ रन जोडेको थियो । खेल बराबरी गर्नका लागि चौका र खेल जित्न छक्का चाहिएको अवस्थामा शाड्लीले छक्का प्रहार गर्दै जिताए ।

पोखरा एभेन्जर्सका लागि विपिन खत्री र कुशल मल्लले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । कमजोर सुरुवातका बावजुत कुशल मल्लले अर्धशतक प्रहार गरेपछि पोखराले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो ।

पहिलो १० ओभरमा २७ रन मात्र बनाएको पोखराले अन्तिम १० ओभरमा १०६ रन बनाएको थियो । पोखराका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ३१ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे ।

उपुल थरंगाले ५१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ४२ रन जोडे । कुशल र उपुलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।तर इनिङ्सको अन्त्यतिर भने पोखराले लगातार विकेट गुमाएको थियो । पोखराले अन्तिम १७ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

कुशल र उपुल बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अन्तिम ओभरमा तीन विकेट लिएका लुम्बिनी अल स्टार्सका शाड्ले भान डालवाइकले ४ ओभरमा २७ रन खर्चिए ।

यस्तै किशोर महतो र गुलशन झाले २-२ तथा हर्मित सिंह र सागर ढकाले समान १ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टार्सले लगतार तेस्रो खेल जित्दै अपराजित रहँदा शरद भेषावकरको कप्तानीमा रहेको एभेन्जर्सको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  १ : १९ बजे