४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु



गुल्मी ।

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो । गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ ।

जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको हो । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ ।

हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सम्झौता गरेका छन् । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ ।

हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलव बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

हाडजोर्नी बिशेषज्ञ सेवा गुल्मीमा सुरु भएपछि जिल्लासँगै छिमेकी जिल्लाका बिरामीलाई राहत पुग्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी असपताललाई आम नागरिकको मेरो अस्पताल हो भन्ने भावना जगाउन थप स्तरी सेवाका लागि रेसुङ्गा नगरपालिकाले सधै सहकार्य गर्ने पन्थीले बताए ।

उनले अब यो सेवा जिल्लामै सुरु भएपछि आम नागरिकको समय र खर्च बच्ने बताए । बिभिन्न कारणले हाडजोर्नीका हड्डी भाचिएर तथा हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका विरामीहरुले सेवापाउने छन् ।

हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आबश्यक सी-आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ । हाडजोर्नी विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।

एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी(आरएमलगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण आबश्यक पर्दछ । विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्नेसामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको डक्टर पच्याले बताए ।

सबै पक्षको सहयोगले यो सेवा स्तरिय हुने उनले बताए । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ।

०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन्। आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  १ : ५९ बजे