१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल टी–२० लिगमा पोखराको पहिलो जित



काठमाडौं ।

कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित हो ।

लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो । ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए ।

सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाए । तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेले ।

कुशलले २२ बलमा ५ छक्कासहित ४० रनको योगदान गरे । सिद्धान्तले १० बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए । अमिर हम्जाले १२ रन जोडे ।

बलिङमा फारवेष्टका करण केसी, प्रकाश जैशी र उमाइर अलीले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको फारवेष्टले नवौं नम्बरमा ब्याटिङ गरेका राशिद खानको विष्फोटक ३२ रन सहयोगमा ९ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।

राशिदले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । मध्यक्रममा उमाइर अलीको २६ बलमा ४२ रन र ओपनर देव खनालको ३३ रनले फारवेष्ट बलियो योगफलमा पुगेको थियो ।

बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिएका थिए । अमिर हम्जा र तुल थापाले २–२ विकेट लिए ।

यो जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँचौं खेलमा चौथो हार ब्यहोरेको फारवेष्ट समान २ अंक भए पनि नेट रनरेटमा पछि पर्दै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १५ पुस २०७९ शुक्रबार ००:००  ५ : ४० बजे