१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट



एजेन्सी ।

विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो।

विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन् । कोरोनाको पहिलो सङ्क्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

डब्ल्यूएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए । डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

‘युनिभर्सिटी अफ जेनेभा’को इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण ज्यान गुमाउने यकिन सङ्ख्या पुष्टि गर्नु निकै कठिन अभ्यास रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ८ : ४९ बजे