१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘गठबन्धन भंग भएसँगै नयाँ चुनौती थपिएको छ’



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन टुट्नुलाई ‘अप्रत्यासित घटना’ भएको बताएका छन् ।

शनिबार सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले समयमै विचार नगर्दा अप्रत्याशित रुपमा गठबन्धन भंग भएको बताएका हुन् । तत्कालीन बाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै नयाँ किसिमको चुनौती देखा परेको समेत उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको हो । जसन अप्रत्याशित घटना थियो ।’ उनले नेपाली कांग्रेसको नाम नलिई केही व्यक्तिमा आएको सोचले गर्दा सहज ढंगले गठबन्धन अगाडि बढ्न नसकेको बताए ।

अध्यक्ष नेपालले २०७४ मा वामपन्थीलाई दिएको जनमतको समेत सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारे बैठकले ठोस निर्णय गर्नुपर्ने बताए ।

पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल भएको छ ।

यस्तै बैठकमा आगामी दिनको रणनीति तथा कार्ययोजना, पार्टी सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  १२ : २७ बजे