१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङमा यो वर्ष धान उत्पादन घट्यो



तुलसीपुर ।

दाङ जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको छ। धानखेती गर्ने समयमा वर्षा नहुँदा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

यो वर्ष ३७ हजार ७३० हेक्टर क्षेत्रफलमा बर्खे र चैते धान लगाइएकोमा १ लाख ५४ हजार २४३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत पृथ्वी लामिछानेले जानकारी दिए। जसमा १२ प्रतिशत धान उत्पादनमा कमी भएको हो। जिल्लामा यो वर्ष चैते धान २ सय हेक्टरमा लगाइएको थियो। उनका अनुसार यो वर्ष ५ प्रतिशतले धान लगाउने क्षेत्रफल समेत घटेको छ।

त्यस्तै गत वर्ष बर्खे र चैते धान ३९ हजार ४ सय हेक्टरमा लगाइएको थियो। जसमध्ये ३६ हजार ८ सय हेक्टरमा बर्खे धान लगाइएको थियो भने २५ सय ५९ हेक्टरमा चैते धान लगाइएको थियो। त्यस्तै उत्पादन भने १ लाख ७३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको उनले बताए।

यो वर्ष जिल्लामा धान रोपाइको समयमा पर्याप्त मात्रामा पानी नपर्दा धान उत्पादनमा कमी आएको उनले बताए। त्यस्तै जिल्लामा हाइब्रिड यूएस ३१२, बिन्देश्वरी, राधा ४ र सुक्खा ३ धान लगाउने गरेको उनको भनाइ छ।

जिल्लामा विशेषगरी हाइब्रिड जातको धान लगाउने गरेको पाइन्छ। अन्य जातको धानभन्दा उत्पादन राम्रो भएकाले किसानको रोजाइमा अहिले हाइब्रिड धान पर्ने गरेको पनि उनले बताए।

यस्तै जिल्लामा रैथाने धान लोप हुँदै गएको छ। जिल्लामा रैथाने धान कुल क्षेत्रफलको एक प्रतिशत पनि रोपाइँ नभएको उनले बताए। यसअघि जिल्लामा तिल्की र सिम्ठारो जातको रैथाने धानको खेती हुने गरे पनि पछिल्लो समय मौसम प्रतिकूल र नयाँ जातका धान आएसँगै रैथाने धानको रोपाइँ निकै न्यून रूपमा हुने गरेको उनको भनाइ छ।

जिल्लामा अहिले छिटफुट रूपमा मात्रै तिल्की र सिम्ठारो जातको धान लगाउने गरेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ४ : ५९ बजे