४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023

प्रेम सुवाल भन्छन्ः गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लगिँदैछ



सुर्खेत ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अहिलेका शासकहरुले गठबन्धनका नाममा देशलाई अधोगतितर्फ धकेल्ने काम गरिरहेको बताएका छन् । सुवालले त्यसका विरुद्धमा नेमकिपाले संघर्ष जारी राखेको बताए । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्थानीय र संघको चुनावमा हाम्रो दलले पैसा दिन नसक्दा हार व्यहोरेको हो, जनतालाई घोषणा पत्र दियौं तर पैसा दिन सकेनौं ।’

सुवालले अन्य पार्टीहरुले एक निर्वाचन क्षेत्रमा १५ देखि २० करोड बाँडेको आरोप लगाए । ‘हाम्रा कामदार कार्यकर्ताले आफ्नै घरबाट खाना खाएर मत मागे,’ सुवालले भने, ‘हामीलाई आएको मत मजदुर वर्गको रगतको मत हो ।’ सुवालले जेल हाल्नुपर्ने मन्त्री र प्रधानमन्त्रीलाई अब सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दिन आएको बताए ।

देशमा घात गर्ने र गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लैजाने शासक विरुद्धमा आफुहरुले जनताको पक्षमा आवाज उठाउँदै आएको उनले बताए । ‘सच्चा देशभक्त मजदुर वर्ग एक हुनुको विकल्प छैन,’ सुवालले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ३ : ३७ बजे