७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तनहुँमा चितुवाको आक्रमणमा परि १४ जना बालबालिकाको ज्यान गयो



तनहुँ ।
तनहुँमा चितुवाको आक्रमणबाट ‍झन्डै पाँच वर्षमा १४ जनाको बालबालिकाको ज्यान गएको छ । २०७४ साल फागुन ९ गतेदेखि अहिलेसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएको चितुवा आक्रमणमा परि १० बालक र चार बालिकाको ज्यान गएको हो। त्यस्तै १९ जना बालबालिका घाइते भएका छन् ।

ज्यान गुमाउनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठ रहेका छन् ।

त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, त्यही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको ज्यान गएको छ ।

चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका उहाँले बताउनुभयो ।

त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् ।

प्रत्येक पालिकामा पानीको पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो । खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : १९ फाल्गुन २०७९ शुक्रबार ००:००  ४ : ४५ बजे