७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मेरो तर्फबाट रामचन्द्रजीलाई पूरै साथ र समर्थन रहन्छः नेम्वाङ



काठमाडौं ।
राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति चुनावको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ ।

राष्ट्रपतिको आज बिहीवार भएको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वसभामुख नेम्वाङले भन्नुभयो, ‘घोषणा भएको चुनाव परिणामलाई पनि मैले त्यसैरूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।’

नागरिकले नागरिकका लागि संविधान सभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण चुनावको चरणबाट गुज्रिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो चुनाव सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ । यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।’

नागरिकले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधान सभाका अध्यक्ष नेम्वाङले संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर चुनावमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : ५९ बजे