१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

शिक्षा क्षेत्रका समस्यालाई प्याकेजमै सम्बोधन गरिन्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार शिक्षा क्षेत्रका विधमान समस्याहरु प्याकेजमै सम्बोधन गर्ने तयारीमा रहेको बताएका छन्। सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको र उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ।

सोमबार पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए।

‘यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ। उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको व्यहोरा समेत म यहाँहरूलाई अवगत गराउँछु,’ प्रधानमन्त्रीले भने।

शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले प्राविधिक शिक्षालाई जोड दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए। यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  १२ : ३५ बजे