१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीको दानपत्रमा एक सय देशका मुद्रा



बुटवल ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका विभिन्न मुलुकका मुद्रा भेटिएको छ । लुम्बिनी विकास कोषले करिब दुई दशकदेखि बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आगन्तुकले श्रद्धापूर्वक चढाएका भेटी बापतको मुद्रा सटहीका लागि वर्गीकरण गर्दा झन्डै एक सय देशका मुद्रा भेटिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले झन्डै सय देशका मुद्रालाई देश अनुसार छुट्याएर खामबन्दी गरी राखिएको बताए । उनले ती मुद्रा साट्नका लागि राष्ट्र बैंकसँग सल्लाह गरेको पनि जानकारी दिए । सटही नहुने मुद्रा भने सङ्ग्रहालय बनाएर राख्ने आफूहरूको योजना रहेको उनको भनाइ छ ।

लुम्बिनी विकास कोष राजस्व शाखाका अनुसार दानपत्रमा चीन, भारत, संयुक्त राज्य अमेरिका, जापान, हङकङ, बेलायत, सिंगापुर, श्रीलङ्का, म्यानमार, भियतनाम, भुटान, मङ्गोलिया, कम्बोडिया, बङ्गलादेश, लाओस, पाकिस्तान, इन्डोनेसिया, मेक्सिको, ओमान, अर्जेन्टिना, मकाउ, पेरु, अफगानिस्तान, इरान, मालदिभ्स, चिली, मोरिसस, युगान्डाका मुद्रा भेटिएका छन् ।्

राजस्व शाखाका कर्मचारी विकास लामाले दानपेटिकामा नामै नसुनेका देशका मुद्रासमेत फेला परेको जानकारी दिए । ती मुद्रा सम्बन्धित देशकै नागरिकले दान गरेको हुन सक्ने उनको भनाइ छ ।

लामो समयदेखि लुम्बिनीमा रहेका नोटहरू साट्न आवाज उठेको थियो । नेपाल राष्ट्र बैंकले परिवर्त्य सूचीमा नराखेका देशका मुद्रा सहज रूपमा सटही नहुने भएकाले लुम्बिनीमा २०६० साल यता विदेशीले चढाएका भेटीबापतको मुद्रा यत्तिकै थन्क्याएर राख्नुपर्ने अवस्था रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विकास कोषले आर्थिक वर्ष ०७१/०७२ देखि लगत निकालेर ती रकम बोरा र बाकसमा थन्क्याएर राख्ने गरे पनि साट्न समस्या देखिएको थियो । त्यो बेला एक करोड १७ लाख ९५ हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सटही नभएर थन्किएको हो ।

लुम्बिनी विकास कोषका तर्फबाट फागुन ११ गते कोषाध्यक्ष भट्टराईले राष्ट्र बैंक सिद्धार्थनगरमा ध्यानाकर्षण पत्र बुझाएपछि राष्ट्र बैंकले सटहीका लागि सैद्धान्तिक सहमति दिएको हो ।

लुम्बिनी विकास कोषले भेटीबापतका विदेशी मुद्रालाई ‘मुद्रा संग्रहालय’ का रूपमा विकास गर्नुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डा. गितु गिरीको सुझाव छ । उनले बुद्धका कारण विश्वभर जोडिएको लुम्बिनीको महत्त्व दर्शाउन पनि मुद्रा संग्रहालय बनाउँदा राम्रो हुने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  ४ : १९ बजे