१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मकै र गहुँको सट्टा कफी खेतीमा शीतगंगाका महिला



अर्घाखाँची ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–३, खसर्काका महिला जनजागृति महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरू २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् ।

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् । मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरि कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताइन् । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ ।

शीतगङ्गा–३, ठाडाका मित्रलाल बेलवासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन् । भारतमा रोजगारी गर्दै आएकी उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन् । अब थप ५ हजार कफीका बिरुवा लगाउने उनको योजना छ ।

अर्घाखाँचीमा उत्पादन भएको अर्ग्यानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए । आठ सय मिटरदेखि १ हजार ६०० मिटरसम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । ‘यहाँको कफीको विदेशमा माग बढेको छ,’ पाण्डेले भने ।

अर्ग्यानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ ट्याङ्कीलगायत कार्य तथा प्राविधिक रूपमा परियोजनाले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  ४ : ३७ बजे