१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

सैनामैना बालिका मृत्यु प्रकरणः मलामीसमेत अनुसन्धानको घेरामा



बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेग्मीले गरेको अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकीसमेत अनुसन्धानको घेरामा तानिएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।

उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुक तथा तन्त्रमन्त्रको बहानामा चरम यातना दिने क्रममा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि क्रूर र अमानवीय घटना सार्वजनिक भएको हो।

उक्त भीडीओ सार्वजनिक भएपछि मलामी गएकालाई समेत तत्कालै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। बालिकालाई चरम यातना दिएको अभियोगमा माता भनिने सोनियालाई इलाका प्रहरी कार्यालय सालझन्डीले पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको चरम यातनाका कारण मृत्यु भएपछि माता भनिने सोनिया र मृतक बालिका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाट लगेर दाहसंस्कार गरी हत्या घटना गुपचुप राखेका थिए।

गत फागुन २० गते साँझ ६ बजे माताको घर झारफुक गर्न लगिएकी सीताको सोही राति ९ः ३० बजे मृत्यु भएपछि मातासहित बालिकाको घरपरिवारको आग्रहमा लक्ष्मणघाट मलामी गएका छिमेकी पनि अनुसन्धानमा तानिएका हुन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ६ : १२ बजे