१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीमा बाख्रा पालनबाट मनग्य आम्दानी



अर्घाखाँची ।
भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका वडा नम्बर १३ सिमलपानी ढावाका कृषक विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गर्नुभयो । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उहाँ बाख्रा पालनमा लाग्नुभयो । उहाँको फर्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन् ।

‘वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्मभूमिमा आएर बाख्रा पालेको छु । वार्षिक १०/१२ लाख रुपैयाँ खर्च कटाएर आम्दानी हुने गरेको छ । चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु ।’ उहाँले भन्नुभयो बाख्रा पालनमा बजारको कुनै समस्या छैन । झण्डै ७४ रोपनी क्षेत्रफलमा घाँस खेती र बाख्रा फर्म रहेको छ ।

पहिला पहिला बाहिर जिल्लाबाट खसीबोका आयात हुनेमा अहिले जिल्ला निर्यात गर्न सफल भएको छ । बाख्रापालनबाट कृषकहरु लाभान्वित भएका छन् । ‘जिल्लाबाट मासुका लागि बोका तथा बाख्राहरु जिल्ला बाहिर निर्यात हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख पाण्डेले भन्नुभयो ‘झण्डै १० करोड रुपैयाँको खसीबोका, बाख्रा तथा मासुजन्य पदार्थ जिल्लाबाट बाहिर जाने गरेको छ।’

शीतगङ्गा नगरपालिका वडा नम्बर ६ जुकेनाको फेदीमा स्थायी शिक्षक लक्ष्मण ओलीको बाख्रा फर्म पनि लोभलाग्दो छ । उहाँ स्थानीय डिही आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । जागिर खान जाजरकोटबाट आउनु भएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा लाग्नुभयो । उहाँको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् ।

एमएड पास गरेका उहाँ मात्र हैन उहाँकी श्रीमती करुणा ओली पनि शिक्षक हुुनुहुन्छ । तर उहाँहरु समाजमा केही गरेर अरुलाई प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लाग्नु भएको हो । बाख्रापालनको लागि राम्रो ठाउँ, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ ।

गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलिले भन्नुभयो ‘एक वर्षमा बोका तथा बाख्राका पाठीहरु बेचेर २१ लाख रुपैयाँको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर ८ लाखभन्दा बढी बचत भएको छ ।’ उहाँको फर्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

शिक्षण पेसा मूल पेसा भएकाले बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेको उहाँले बताउनु भयो । अरु सबै कामदारको जिम्मामा रहेको उहाँको भनाइ छ । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनलाई आफूहरुले बढी जोड दिएको उहाँले बताउनुभयो ।

शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिँदै आएको छ । अर्घाखाँची जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताउनु भयो ।

यहाँबाट कपिलवस्तु, दाङ, रुपन्देही, काठमाण्डौ, पोखरा लगायत ठाउँमा खसी बोका मासुका लागि निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ३ : ५३ बजे