१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रातिमा लाग्ने प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन



मायादेवी अनलाइन, बाणगंगा ।
रात्रिकालिन प्रहरमा लाग्ने ७ औं प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन गरिएको छ । बुधबार लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय र मधुसुदन शरण चौधरीले एक समारोहका बीच महोत्सवको उद्घाटन गरेका हुन् ।

साँझ उद्घाटन गरिएको महोत्सव नेपालकै फरक शैलीको महोत्सव हो । रात्रिकालिन प्रहरमा महोत्सव लाग्दै आएको छ । चैत १२ गतेसम्म तौलिहवाको बुद्धपद्यम माविको मैदानमा महोत्सव लाग्ने छ ।

तौलिहवा उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । खुला संग्रहालयका रुपमा रहेको जिल्लामा रहेका ढेड सय बढी बुद्धसंग सम्बन्धित स्थलहरुको प्रचारप्रसार, अन्तर्राष्ट्रिय ध्यान खिचेर लगानी भित्राउनका लागि महोत्सव संचालन गर्न लागिएको महोत्सव स्थलमा गरिएकोे पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेलाका संयोजक गयादीन कुर्मीले बताए ।

तीन वटा बुद्धको क्रिडास्थल भए पनि उपेक्षित बनेको ऐतिहासिक स्थलबाट भगवान गौतम बुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र कपिलवस्तुमा रहेका बुद्धसंग जोडिएका स्थानहरुको प्रचार प्रसार गर्नको लागि महोत्सव आयोजना गरिएको उनले बताए।

जिल्लामा बुद्धले २९ बर्ष बिताएको तिलौराकोट, बुद्धत्व प्राप्त गरे पछि पहिलो पटक आएको स्थान कुदान, कनकमुनीको जन्मथलो निगाली र अरौराकोट, शाक्यहरुलाई सामूहिक बध गरिएको सहराहवा, सिसहनियाकोट, धमनिया स्तुप लगायत बुद्धसंग सम्बन्धित स्थलहरुको बिकासका लागि महोत्सव मार्फत आह्वान गरिने बताइएको छ ।

मेलामा कृषि, पर्यटन, घरेलु तथा लघु उद्यम, वाल उद्यान, समेत रहने छन् । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोवार हुने मेला संयोजक चौधरीले बताए । महोत्सवमा एक सय बढी स्टल रहने छन । महोत्सवमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, बद्री पंगेनी, हेमन्त शर्मा, भोजपुरी गायिका प्रिती पासवान लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९ बिहिबार ००:००  ६ : ४८ बजे