१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको बैजलपुर सामुदायिक वनद्धारा समाचारको खण्डन



मायादेवी अनलाइन, बाणगंगा ।
‘बैजलपुर वनमा वन पदाधिकारी र ठेकेदारको मिलेमतोमा टेण्डर हत्याउने प्रयास’ शिर्षकको समाचारबारे बैजलपुर सामुदायिक वनले खण्डन गरेको छ ।

बैजलपुर सामुदायिक वनले मायादेवी अनलाइनमा प्रकाशित भएको समाचार प्रति विमति जनाउँदै समाचारमा भनिएको जस्तो ७ लाखको लोभ कसैले नगरेको जनाएको छ।

मायादेवी अनलाइनलाई एक पत्र लेख्दै उक्त समाचारले आफूहरुको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

‘संस्थाका पदाधिकारीलाई मानहानी हुने गरी कपोकल्पित रुपमा व्यक्तिगत तुष पोखेजस्तो गरी समाचार बनाइएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

समाचारमा दाबी गरिए अनुसार सत्यतथ्य प्रमाण भए कानुन अनुसार आफूहरु कारबाही भोग्न तयार हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

वनका कोषाध्यक्ष रेम बहादुर रेश्मीले आफूहरुमाथि केही व्यक्तिले अनर्गल प्रचार गरेको भन्दै गुनासो गरे । आफूले कसैसंग रकमको बार्गेनिङ नगरेको भन्दै कानुन अनुसार नै वनको टेण्डर लगाइएको उनले प्रष्ट पारे ।

वनका सह-सचिव बाबुराम अधिकारीले आफूलाई समेत जोडेर लेखिएको समाचारले दुखित तुल्याएको बताए ।

मायादेवी अनलाइनलाई प्राप्त सूचनालाई उदृत गर्दै अनलाइनले शनिबार बैजलपुर सामुदायिक वनको समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ४ : १० बजे