१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तनहुँ-१ र बारा-२ मा पनि वैशाख १० गते नै उपचुनाव हुने



काठमाडौं ।
तनहुँको क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज सोमवार बसेको बैठकले तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले यसअघि नै चितवन–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरिसकेको छ । तनहुँ–१ विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोले त्यहाँ रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बारा–२ का निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ पनि उपचुनाव हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपचुनाव गर्नुपर्ने व्यवस्था छ । यस्तै नागरिकता प्रकरणमा सर्वोच्च अदालतको निर्णयअनुसार रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ मा पनि यसअघि चितवन–२ का लागि स्वीकृत कार्ययोजनाअनुसार नै चुनावको प्रक्रिया अघि बढाउने भएको छ । यसअघि सार्वजनिक कार्यक्रमअनुसार चैत ८ देखि १२ गतेसम्म दल दर्ता, १६ गते मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ६ : २८ बजे