१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिउँदे बाढीले तरकारी बगाउँदा शिवराजमा लाखौंको क्षति



कपिलवस्तु ।
हिउँदे बाढीका कारण शिवराज नगरपालिका वडा नम्बर ८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुगेको छ ।

शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समूहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा १६ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारी बालीमा क्षति गरेपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन् । सुरही नदीको बगरमा एक दर्जन किसानले तरकारी खेती गर्दै आएका थिए।

कृषक समूहका अध्यक्ष सुग्रीव लोनियाले बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको बताए ।

‘बगरमा लगाइएको सबै तरकारी बाढीले बगाएर लग्यो । किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ’, अध्यक्ष लोनियाले भने ।

अनुगमनमा पुगेका शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले तरकारी खेतीका लागि सहयोग गरेको बताउदै तरकारी खेतीमा बाढिले गरेको क्षतीको पनि पालिकामा आवश्यक सल्लाह गरेर किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ६ : १७ बजे