८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आठ महिनामा साढे १० खर्ब रुपैयाँको वस्तु आयात



काठमाडौं ।
आयातमा कमी हुँदा नेपालको वैदेशिक व्यापार घाटामा कमी आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा नौ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा झन्डै १८ प्रतिशतले कमी हो ।

पछिल्लो आठ महिनामा व्यापार घाटामात्रै नभएर आयात र निर्यातमा पनि कमी आएको छ । साउनदेखि फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा १९ प्रतिशतले कमी हो । यस्तै एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा २९ प्रतिशतले कमी हो ।

आठ महिनामा ३८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । यस्तै २२ अर्बको तरकारी, झन्डै १२ अर्बको फलफूल, ६४ अर्बको घिउ/तेल र एक अर्ब ६५ करोड रुपैयाँको दुधजन्य पदार्थ आयात भएको छ । यस्तै दुई खर्ब २७ अर्बभन्दा धेरैको पेट्रोलियम पदार्थ, २९ अर्बको औषधी र कच्चा पदार्थ, २७ अर्बको बिउबिजन, ४० अर्बको पलास्टिकजन्य वस्तु र ८७ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् ।

निर्याततर्फ २३ अर्बको घिउ/तेल, झन्डै चार अर्बको तरकारी र खाद्यान्न, १० अर्बको चिया/कफी र आठ अर्ब रुपैयाँको तयारी, पोसाकलगायतका सामान निर्यात भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ६ : १९ बजे