६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु



बुटवल ।
बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपुर्जाविहीन जग्गाहरूको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरूमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे सुरु गरेको हो ।

बुटवल ११ सिर्जनानगरमा सर्भेको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपुर्जा नपाएकाहरूलाई लालपुर्जा दिलाउनका लागि उपमहानगरपालिकाले सबै प्रयास गर्ने बताए ।

उनले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लकहरू छिट्टै नै नापजाँचको प्रक्रियामा जाने बताए।

नगरप्रमुख पाण्डेयले अहिले वडा नं २, ११ र १२ का जग्गाहरूको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए ।

वडा नं २ का करीब ३ सय घरधुरी, ११ का करीब ४ सय घरघडेरी र १२ का करिब १ सय २० घरधुरीको नापजाँच अगाडि बढेको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए ।

सर्भेमा बुटवल उपमहानगरपालिकाका ५ जना सर्वेक्षकहरू खटिएको र छिट्टै नै डीजीपीएस सर्भे पूरा गरी नापजाँचको काम सुरु गर्ने बुटवल उपमहानगरपालिकाका सर्वेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ७ : ०५ बजे