१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८



काठमाडौं ।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको १२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार कार्यालयले सार्वजनिक गरेको अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

नेपालमा १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८।९८ प्रतिशत पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत महिला रहेका छन्।

कुल जनसंख्यामा अन्य लिंगी २ हजार ९२८ जना रहेका छन्। यसअघि १२ माघ २०७८ मा तत्कालीन केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो।

अन्तिम प्रतिवेदनमा २७ हजार ९०२ कम जनसंख्या देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन ९ मंसिर २०७८ लाई मानिएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको छ। काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६८५ जना रहेका छन्।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६, पहाडमा ४०.१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६२४ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९४८ जनसंख्या रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर २०७८ सम्म १२औं राष्ट्रिय जनगणना गरेको थियो। कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना संकलन गरेको थियो।

नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ। १२औं राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झन्डै ३ अर्ब रकम खर्च गरेको छ भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  २ : ४६ बजे