१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बसन्त कुँवर बने प्रहरीको नयाँ आईजीपी



काठमाडौं ।
सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता आईजीपी बनेका थिए ।

एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् । उनी गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका थिए ।

सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो । त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहेका थिए । कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहेका थिए ।

२०२६ चैत १५ गते जन्मिएका कुँवर २०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका हुन्।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ७ : ३६ बजे