१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

जेल हालेर मलाई तर्साउन सक्दैनन्ः राहुल गान्धी



एजेन्सी ।
भारतको कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने बताएका छन्।

लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताएका हुन्।

‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने।

अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्नु भएको बताए।

‘म यहाँ जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्न आएको हुँ। मलाई उनीहरूको डर छैन,’ उनले भने, ‘म प्रधानमन्त्री मोदी र गौतम अदानीबीचको सम्बन्धबारे प्रश्न गरिरहनेछु।’

यस्तै, आफूले अदानीविरूद्ध अर्को भाषण गर्न लागेको हुँदा प्रधानमन्त्री मोदी डराएकाले आफ्नो सांसद पद खारेज गरेको पनि उनले बताए।

संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा प्रतिपक्षीहरूको आवाज चर्को रूपमा उठाउँदै आएका गान्धीलाई बिहीबार मानहानी मुद्दामा २ वर्ष जेल सजाय सुनाइएको थियो।

सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। ती दफामा अपराधिक मानहानीमा अधिकतम् २ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ।

चार वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयोरु’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

भाजपाको गढ र मोदीको गृहराज्य गुजरातमा रहेको उक्त अदालतमा बयान दिने क्रममा गान्धीले आफ्नो आशय कुनै जाति र समुदायलाई चोट पुर्‍याउने नभएको बताएका थिए।

चुनावी भाषणका क्रममा दिएको अभिव्यक्तिलाई आधार मानेर अदालतले उनलाई अधिकतम् सजाय सुनाएको हो।

दुई वर्षको सजाय सुनाए पनि सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि १० हजार भारू धरौटीमा छोडेको छ।

अदालतको आदेश कार्यान्वयन नै नभएको अवस्थामा त्यही कुरालाई आधार मानेर लोकसभाले शुक्रबार उनको सांसद पद खारेज गरिदिएको हो।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ८ : १३ बजे