१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

टी-२० मा अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्दै दक्षिण अफ्रिकाले बनायो कीर्तिमान



काठमाडौं ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले कीर्तिमानी लक्ष्य पार गरेको छ।

सेन्युरियनमा आइतबार भएको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पार गर्दै घरेलु टिम दक्षिण अफ्रिकाले कीर्तिमान बनाएको हो।

यसअघि टी-२० मा कीर्तिमानी लक्ष्य बुल्गेरियाको नाममा थियो। बुल्गेरियाले २०२२ मा सर्बियाले दिएको लक्ष्य पार गर्ने क्रममा २४६ रन बनाएको थियो।

आइसिसीको स्थायी सदस्यको कीर्तिमान भने अस्ट्रेलियाको नाममा थियो। सन् २०१८ मा अस्ट्रेलियाले न्युजिल्यान्डले दिएको लक्ष्य पछ्याउने क्रममा २४५ रन बनाएको थियो।

आइतबार कीर्तिमानी लक्ष्य दक्षिण अफ्रिकाले ७ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्दै ६ विकेटको जित निकाल्यो।

दक्षिण अफ्रिकाका लागि क्वान्टन डि ककले ४४ बलमा १०० रन र रिजा हेनरिक्सले २८ बलमा ६८ रन जोडेका थिए।

उनीहरुबीच पहिलो विकेटका लागि १०.५ ओभरमा १५२ रनको साझेदारी भएको थियो। डि ककले ४४ बलमा ९ चौका र ८ छक्का तथा रिजाले २८ बलमा ११ चौका र २ छक्का हिर्काए। त्यसपछि रेलि रस्सोले ४ बलमा १६ रन जोडे।

१२.४ ओभरमा तीन विकेट गुमाउदा दक्षिण अफ्रिकाले १९३ रन जोडिसकेको थियो।

त्यसपछि कप्तान एडिन मक्रमले २१ बलमा नटआउट ३८ रन र हेनरिक क्लासेनले ७ बलमा नटआउट १६ रन जोड्दा दक्षिण अफ्रिकाले कीर्तिमानी लक्ष्य पार गर्‍यो।

दुवै इनिङमा गरी कुल ५१७ रन बनेसँगै अर्को कीर्तिमान बनेको छ। यो टी-२० मा दुवै इनिङ्ग्सको गरी अहिलेसम्मकै ठूलो योगफल हो।

दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ।

क्रिस गेलको रेकर्ड तोड्दै जोन्सन चार्ल्सले प्रहार गरेको टी-२० शतक छायाँमा

त्यसअघि वेस्ट इन्डिजका ब्याट्सम्यान जोन्सन चार्ल्सले ३९ बलमा शतक प्रहार गरे।

११८ रनमा मार्को जान्सनको योर्करमा आउट हुनुअघि उनले ४६ बलमा १० चौका र ११ छक्का हिर्काए।

उनको शतकसँगै वेस्ट इन्डिजले १४ ओभरमा ४ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। ३४ वर्षीय चार्ल्सको यो पहिलो टी-२० शतक हो।

बाँकी ६ ओभरमा ७९ जोडेपछि वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा २५८ रन जोड्न सफल भएको थियो।

टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमसेकराको नाममा छ। उनीहरूले ३५-३५ बलमा शतक प्रहार गरेका थिए।

त्यसपछि दोस्रो छिटो शतक चार्ल्ससँगै रोमानियाका शिवकुमार पेरियाल्वार र हंगेरीका जीशन कुकिखेलको नाममा छ। उनीहरुले ३९ बलमा शतक पूरा गरेका थिए।

आज चार्ल्सको शतक वेस्ट इन्डिजका लागि भने सबैभन्दा छिटो टी-२० शतक हो।

वेस्ट इन्डिजका लागि यसअघिको कीर्तिमान क्रिस गेलको नाममा थियो। गेलले आइसिसी टी–२० विश्वकप २०१६ मा मुम्बईमा इंग्ल्याण्डविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए।‍

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ५ : २९ बजे