७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

देश जहाँ छोयो त्यहीँ फाटेको छः मन्त्री किराती



काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताउनुभएको छ । सोमवार काठमाण्डौमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो ।

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो । उहाँले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ ।’

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताउनुभयो । उहाँले बेरोजगार भएरमात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताउनुभयो ।

मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिने गरी काम हुन जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ५ : १७ बजे