२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

टेलिभिजनलाई समयानुकूल बनाउनुपर्छः अध्यक्ष ओली



सिद्धार्थनगर ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकूल प्रविधियुक्त बनाएर सेवाग्राहीका लागि सहज र सरल बनाउनुपर्ने बताउनुभएको छ ।

टेलिभिजनबाट नै अन्य सामाजिक सञ्जाल युट्युब, टिकटक, फेसबुकलगायतले समेत सूचना प्राप्त गर्ने हुनाले यसलाई प्रविधियुक्त बनाउन उहाँले सुझाव दिनुभएको हो । विकासका लागि सूचना तथा सञ्चार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनलाई रुपन्देहीको बुटवलमा बुधबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

नेपालका टेलिभिजनलाई बदलिँदो टेक्नोलोजी सहित समयानुकूल ढङ्गले चलाउन सक्नुपर्छ उहाँले भन्नुभयो । संसारमा सबै प्रकारका टेक्नोलोजी उपलब्ध रहेको भन्दै दुनियाँमा सञ्चारका प्रविधिहरू अत्यन्तै तीव्रताका साथ अघि बढेको उहाँको भनाइ छ । आइटी टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाउन जरुरी रहेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ टेक्नोलोजीले राम्रो काम गर्छ बेनिफीट दिन्छ, त्यसैले यसलाई प्रयोगमा ल्याउनुपर्छ, लगानी बढाउनुपर्छ ।” म त टेलिभिजन खोल्न र बन्द गर्न मात्रै जानेको मान्छे हुँ भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “कम्पनीले टिभी बनाउँछ, मिस्त्रीले जोडजाड पार्छ, रिमोट हातमा दिन्छ, हामी त च्यानल चेन्सवाला मात्र हौँ ।”

गुल्मी, पाल्पा र अर्घाखाँचीमा मिसन ग्रासरुट सकेर अध्यक्ष ओली बुटवल आइपुग्नु भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९ बिहिबार ००:००  ६ : ०४ बजे