४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आज राम नवमी पर्व मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा



काठमाडौं ।
आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ ।

आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।

यस्तै, आज जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज देशभरकै राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ ।

रामनवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९ बिहिबार ००:००  ९ : ३० बजे