१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाललाई ’थ्री नेसन्स’ कपको उपाधि, लाओस २–१ ले पराजित



काठमाडौं ।
लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ’थ्री नेसन्स’ कपको उपाधि जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार डलर पुरस्कार पाएको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै ५ सय डलर प्राप्त पारे ।
प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ६ : ०३ बजे