६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता



एजेन्सी ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो बन्द हुने देखिएको बीबीसीले जनाएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन ।

पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भन्नुभएको छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ६ : ०० बजे