१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अब देशले गति लिन्छः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गर्नुभएको छ ।

शुक्रवार रिपोर्ट्स क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनुभयो ।

उहाँले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूतरूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । हो देश अहिले आर्थिकरूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ । मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु, सुशासन कायम गर्नका लागि लामो–लामो लाइन बस्ने, राहदानी, लाइसेनलगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ । सुधार भएको छ र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ ।’

प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक अवस्था बरबाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ६ : ३४ बजे