६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेता–कार्यकर्ता देशको समस्या समाधान गर्न लाग्नुपर्छः अध्यक्ष नेपाल



झापा ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको स्कुल विभाग झापाको आयोजनमा भद्रपुरमा शुक्रवारदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले देशको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।’

देशको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको जिकिर गर्दै उहाँले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिनुभयो ।

पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्ने बताउँदै उहाँले युवा पुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई नेपालले सुझाव दिनुभयो ।

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिनुभएको थियो । शनिवार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ६ : ३६ बजे