१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमिमा गुणस्तरीय शिक्षाका लागि एक शिक्षक एक ल्यापटप वितरण



मायादेवी अनलाइन, वाणगंगा ।
गुणस्तरीय शिक्षाका लागि बुद्धभूमि नगरपालिकामा एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु भएको छ । शिक्षकहरुलाई प्रविधी मैत्री बनाउदै शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले बुद्धभूमि नगरपालिकाका शिक्षकलाई ल्यापटप वितरण गरिएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को बार्षिक नीति तथा कार्यक्रम अन्तरगत सोमबार ल्यापटप वितरण गरिएको हो । नगरपालिकाले लागत साझेदारी नीति अनुरुप शिक्षकहरुका लागि ल्यापटप वितरण गरेको छ । शिक्षकको ५० र नगरको ५० प्रतिशत लागतमा एक शिक्षक एक ल्यापटपको योजना अनुसार शिक्षकहरुलाई नगरपालिकाले ल्यापटप हस्तान्तरण गरेको हो ।

सो नीति अनुसार ३९ जना शिक्षक मध्ये ३२ जनालाई ल्यापटप वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले जानकारी दिनुभयो । अधिकृत क्षेत्रीले अन्य वाँकी ७ जनालाई पछि वितरण गरिने जानकारी दिनुभयो ।

ल्यापटपबाट कक्षाकोठाको शिक्षण सिकाई कृयाकलाप प्रभावकारी हुने बताइएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले विद्यालयलाई प्रविधी मैत्री बनाउन एक शिक्षक एक ल्यापटपको अवधारणा ल्याइएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता अनुसार नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने योजनाका साथ नयाँ नयाँ कार्यक्रम लागु गरिरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७९ मंगलबार ००:००  ६ : ०३ बजे