१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतमा कोरोनाबाट ४ दिनमा ४० जनाको निधन



काठमाडौं ।
छिमेकी देश भारतमा कोरोनाको संक्रमणबाट ४ दिनमा ४० जनाको निधन भएको छ। बढ्दो कोरोना संक्रमणलाई रोक्न भारत सरकारले छिट्टै कुनै निर्णय लिने तयारी गरेको छ।

पछिल्लो समय बढ्दो कोरोना संक्रमणको कारण भारत विश्वको १० प्रभावित मुलुकको सूचीमा परेको छ। संक्रमणका कारण ज्यान गुमाउनेमा पनि भारत १० औं स्थानमा छ।

प्राप्त तथ्यांक अनुसार २४ घण्टायता भारतमा ४४३५ संक्रमित फेला परेका छन्। यो विगत १६३ दिनको तथ्यांकमा सबैभन्दा धेरै संक्रमितको संख्या हो। देशमा सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको छ। उनीहरू हाल उपचार गराइरहेका छन्।

पछिल्लो २४ घण्टामा १५ जनाको निधनले स्वास्थ्य मन्त्रालयलाई गम्भीर बनाएको छ। निधन हुनेहरुमा महाराष्ट्र र केरलामा ४–४ जना छन्। छत्तिसगढ, दिल्ली, गुजरात, हरियाणा, कर्नाटक, पुडुचेरी र राजस्थानमा पनि १–१ संक्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४ दिनमा निधन हुनेको संख्या ४० पुगिसकेको छ। कोरोनाका कारण भारतमा हालसम्म ५ लाख ३० हजार ९१६ जनाको निधन भइसकेको छ।

भारतमा एक अप्रिलमा पाँच, दुई अप्रिलमा ११, तीन अप्रिलमा ९ र ४ अप्रिलमा १४ जनाले ज्यान गुमाइसकेका छन्।

देशमा बढ्दो कोरोना संक्रमणका कारण भारतको सर्वोच्च अदालतले वकिलहरूलाई भर्चुअल उपस्थितिको छुट दिएको छ। बुधबार प्रधानन्यायाधीस डीवाई चन्द्रचुडले यसका लागि अनुमति दिएका हुन्।

प्रकाशित मिति : २२ चैत्र २०७९ बुधबार ००:००  ५ : ०१ बजे