१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रकृया : माधव नेपाल



काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताएका छन् । उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रकृया रहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७९ बुधबार ००:००  १२ : ४५ बजे