७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

ढल्नै लागेको लुम्बिनी प्रदेश सरकार बजेटको तयारीमा



बुटवल ।
अल्पमतमा रहेको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको आन्तरिक तयारी थालेको छ । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले राजीनामा दिएपछि अर्थ मन्त्रालय आफैले राखेका मुख्यमन्त्री लीला गिरीले बजेट बनाउन निर्देशन दिएपछि अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको हो ।

मन्त्रालयले राजस्व परामर्श समिति, स्रोत अनुमान समिति, मध्यकालिक खर्च समितिलगायतका समितिको बैठक बसाएर प्रदेशको बजेटबारे छलफल चलाइरहेको छ । अर्थ सचिव संयोजक रहेको राजस्व परामर्श समितिले सरोकारवाला मन्त्रालयका महाशाखा प्रमुख, उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग छलफल गरिसकेको छ ।

यस्तै अन्य समितिमा प्रदेश योजना आयोग उपाध्यक्ष संयोजक रहने व्यवस्था भए पनि अहिले योजना आयोगको उपाध्यक्ष नभएपछि मुख्यमन्त्री लीला गिरी नै बैठकमा सहभागी भएर बजेट सम्बन्धी निर्देशन दिने गरेको मन्त्रालयका सूचना अधिकारी मोहन पाण्डेयले बताए ।

प्रदेश योजना आयोगको उपाध्यक्ष संयोजक हुने भए पनि सो पद रिक्त हुँदा मुख्यमन्त्री नै संयोजकको जिम्मेवारीमा रहने व्यवस्था छ । अर्थ मन्त्रालयले विषयगत मार्ग दर्शनका लागि चालु बजेटमा ८० प्रतिशत आधार मानेर मन्त्रालयहरूमा पठाएको छ । यस्तै वैशाख दोस्रो हप्ताभित्र सबै मन्त्रालयसँग पूर्व बजेट, आयस्रोत आदिका बारेमा छलफल गर्ने तयारी छ । २० दिन भित्र मन्त्रालयबाट सिलिङ माग गर्ने योजना रहेको बताइएको छ ।

सरकार प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले अहिले आन्तरिक तयारी भए पनि वैशाख लागेपछि बजेटको विषयमा विस्तृत छलफल हुने बताए । ‘अहिले सामान्य प्रक्रिया मात्रै सुरु भएको हो, वैशाखपछि विस्तृत प्रक्रिया सुरु हुन्छ’ प्रवक्ता आचार्यको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८० शुक्रबार ००:००  ६ : १९ बजे