१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमालेको योजना : पार्टी मत जोगाउने, गठबन्धनका असन्तुष्ट फकाउने



बारा ।
बारा–२ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन २० चैतको बिहानसम्म नेकपा एमाले कार्यकर्ता अन्योलमै थिए । सत्तारुढ पाँच दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने निकै पहिले निश्चित भएको थियो । तर गत मंसिरको चुनावमा जसपासँगै तालमेल गरेको एमाले नेतृत्वले कुनै निर्णय लिएको थिएन ।
यहाँका कतिपय एमाले नेताहरुलाई उपेन्द्रलाई रोक्ने गरी कुनै दलसँग सहकार्य गर्ने कि आफ्नै उम्मेदवार खडा गर्ने भन्ने पत्तो थिएन । एमाले नेतृत्वले मनोनयन दर्ताको समय केही घण्टा बाँकी रहँदा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय र्गयो ।
अन्तिम समयमा पार्टी केन्द्रले पौडेललाई उम्मेदवार बनाएर एक्लै प्रतिस्पर्धामा उत्रने निर्णय गरेपछि भने यहाँका एमाले कार्यकर्ता लगातार चुनाव प्रचार अभियानमा जुटेका छन् । एमाले नेता रघुवीर महासेठ मनोनयन दर्तादेखि उम्मेदवार पौडेलका साथ छन् । अर्का नेता लालबाबु पण्डित चुनावी अभियानमै छन् । एकहप्ता अगाडि एमाले महासचिव शंकर पोखरेल र सचिव योगेश भट्टराई यहाँ आएका थिए ।
प्रचारप्रसारको अन्तिम दिन विहिबार अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ । त्यसको तयारीमा नेता तथा कार्यकर्ता केही दिन अगाडिबाटै परिचालित छन् ।
अध्यक्ष ओली गत २२ चैतमा पनि यो क्षेत्रमा भएका केही कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए । फेरि ओली यो क्षेत्रमा आउनु अघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहाँ आइपुगेका छन् । बुधबार बारा आएका पोखरेलले २०११ सालको किसान आन्दोलनमा शहीद बनेका मुखलाल महतोको शालिकमा माला चढाएर घरदैलो गरे ।
लगत्तै एक चुनावी सभामा सम्बोधन मार्फत पोखरेलले जसपाका अध्यक्ष यादवको चर्काे आलोचना गरे । ‘मोरङ, सुनसरी, सप्तरी हुँदै बारामा आएर यो के नौटंकी हो ? के का लागि हो यो सब ? कति ठाउँमा गर्ने हो यस्तो ?’ कार्यकर्ता उत्साहित बनाउने गरी पोखरेलले आक्रोशपूर्ण अभिव्यक्ति दिए ।
स्थानीय नेताहरुले वरिष्ठ उपाध्यक्ष पोखरेललाई यो क्षेत्रमा एमालेको १६ हजार मत रहेको रिपोर्टिङ गरेका छन् । ‘हाम्रो भन्दा थोरै मात्रै धेरै उपेन्द्र यादवको मत छ । सत्ता गठबन्धनबाट केही मत आउनासाथ जित्छौं’, एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलवीर चौधरी भन्छन् ।
गत मंसिरको चुनावमा भने यो निर्वाचन क्षेत्रमा एमालेले समानुपातिकतर्फ ९ हजार मत पाएको छ । प्रत्यक्षतर्फ भने एमालेले जसपाकै रामसहायप्रसाद यादवलाई मत दिएको थियो । ‘गत चुनावमा जसपालाई र २०७४ मा माओवादीलाई मत दियौं । त्यसैले हाम्रो मत देखिएन, कार्यकर्तामा पनि त्यसबेला उत्साह थिएन’ उम्मेदवार पौडेल भन्छन्, ‘यसपटक परिस्थिति बदलियो । फेरि एमालेका कार्यकर्ताले सूर्य चिह्नमा मत हाल्ने अवसर पाएका छन् ।’

एमाले नेताहरुले कार्यकर्तामा उत्साह भर्न र अरु मतदाता तान्न आफ्नो विगतलाई प्रचार गरिरहेका छन् । यो क्षेत्रबाट २०४८ देखि लगातार तीन पटक जितेकाले बलियो बिरासत फेरि फर्काउने भन्दै नेताहरुले सार्वजनिक भाषण गरिरहेका छन् । ‘एमालेले यहाँ २०४८ सालमा जितेको छ । २०५६ सालमा एमाले फुट्दा पनि चुनाव जितेको हो । हामीसँग सबभन्दा बलियो संगठन छ’, उम्मेदवार पौडेल भन्छन् ।
गत मंसिरको चुनावमा पनि बाराका ४ मध्ये २ वटा निर्वाचन क्षेत्र एमालेले जितेको छ । बारा–१ बाट जितेका अच्युत मैनाली र ३ बाट जितेकी सांसद ज्वाला साह अहिले चुनावी मैदानमै छन् ।
एमालेको चुनावी अभियान हेर्दा पार्टी मत जोगाउन प्राथमिकतामा छ । त्यसमा सत्ता गठबन्धनको असन्तुष्ट मत तान्दा जित्न सकिने हिसाब नेताहरुले सुनाउने गरेका छन् । ‘जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहको अलोकप्रियता र उपेन्द्र यादवलाई यहाँका जनताले रुचाएको देखिएन,’ चुनावी अभियानका उपसंयोजक मनोज पौडेल भन्छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत मतदातामाझ प्रिय भएपनि शिवचन्द्रले मत पाउने अवस्था नरहेकाले एमालेले जित्ने आधार थप बलियो भएको उनको दाबी छ । ‘टिकटकै लागि दल छाडेको, पहिला पनि हारेको कुरा यहाँका जनताले बुझेका छन्,’ उनी भन्छन् ।
तर जनमतभन्दा पनि बढी मत सत्तारुढ गठबन्धनका दलहरुबाट तान्ने एमालेको नीति देखिन्छ । राम्रै जनमत भएको पुरानो पार्टी कांग्रेसले यसअघि माओवादीका शिवचन्द्र र यसपटक जसपाका उपेन्द्रलाई उम्मेदवार बनाउँदाको लाभ आफूलाई हुने विश्वासमा उनीहरु छन् । त्यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको आफ्नै उम्मेदवार नभएकाले सत्तारुढ गठबन्धनको मत तान्न सकिने नेता पौडेल बताउँछन् ।
तर कांग्रेसका स्थानीय नेताहरु भने गठबन्धनको मत अन्यत्र बाँडिने संभावना नरहेको दाबी गर्छन् । २५ चैतदेखि उपेन्द्र यादवसँगै चुनाव प्रचारमा हिँडिरहेका कांग्रेस बारा जिल्ला सभापति राजेश यादव, पार्टी निर्णयप्रति कार्यकर्ता प्रतिबद्ध रहेको बताउँछन् । एमालेले भने आफ्नो पार्टी मत जोगाउँदै गठबन्धनको कार्यकर्ता तान्न पार्टी नेतृत्वले गरेको राम्रो कामको प्रचार गरिरहेका छन् ।

(अनलाइन खबर)

प्रकाशित मिति : ७ बैशाख २०८० बिहिबार ००:००  ४ : २२ बजे