८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आईपीएल क्रिकेटमा चेन्नईसँग हैदराबाद ७ विकेटले पराजित



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई हराएको छ । गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । उसका अभिशेख शर्माले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठी २१ रनमा आउट भए । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले अविजित ७७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, ऋतुराज गायकवाडले ३५ रन जोडे ।

हैदराबादका मयङ्क मार्कन्डेले २ विकेट लिए । जितसँगै चेन्नईको ६ खेलमा ८ अङ्क भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको हैदराबाद नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८० शनिबार ००:००  ७ : ५१ बजे