१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ईद पर्व मनाउँदै मुस्लिम समुदाय



काठमाडौं ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले इदुल फित्र पर्वको अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।

इदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उहाँले विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८० शनिबार ००:००  ८ : १९ बजे