११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रेस चौतारीको ८ बुदे कपिलधाम घोषणापत्र जारी



कपिलवस्तु ।
प्रेस चौतारी नेपाल कपिलवस्तुले कपिलधामबाट ८ बुदे घोषणापत्र जारी गरेको छ । प्रेस चौतारी कपिलवस्तुको ८ औं वार्षिक साधारण सभाको अवसरमा ८ बुदे घोषण पत्र जारी गरेको हो ।
कपिलधाममा संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट जारी घोषणा पत्रमा नेपाल पत्रकार महासंघ केन्द्रद्धारा थालनी गरिएको सदस्यता शुद्धिकरण अभियान स्वागत गर्दै अक्षरस पूर्ण कार्यान्वयनका लागि जोडदार माग गरेको छ ।
लुम्बिनी प्रदेश सरकारद्धारा हालै गठन गरिएको सञ्चार समन्वय परिषद्का पदाधिकारीलाई हार्दिक बधाई सहित सफल कार्याकालको कामना गर्दै प्रदेश सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै पत्रकार सम्बद्ध श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, कपिलधाम लगायतका कपिलवस्तु जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको प्रचार प्रसार र प्रवर्धनका निम्ति प्रेस चौतारी नेपालका सदस्यहरु क्रियाशिल रहने र सरोकारवालाको प्रवद्र्धनका निम्ति ध्यानाकृष्ट गराएको छ ।
त्यस्तै पत्रकार भित्र मौलाइरहेको विकृति, विसंगती र छाडा प्रवृतिको विरुद्ध सम्पुृर्ण श्रमजीवी पत्रकारहरु एक ढिक्का भई सुशासन, जवाफदेही र जिम्मेवार भई आफनो काम प्रति निष्ठा सहित मर्यादित पत्रकारिताका लागि प्रेस चौतारीसँग आवद्ध पत्रकारहरुको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय सूचना तथा संचार प्रविधी दिवस २०२३ मनाइरहेको सन्दर्भमा सरकारले संचारको क्षेत्रमा पर्याप्त लगानी गरी आम संचारमाध्यमलाई प्रविधी मैत्री बनाउने नीति कार्यक्रम र बजेट सुनिश्चित गर्न जोडदार माग गरिएको छ ।
त्यस्तै घोषणा पत्र मार्फत सुखी नेपाली, समृद्ध नेपालको अभिभारा पुरा गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज, संचार क्षेत्र एकताबद्ध भई आर्थिक विकासका आधार तयार गरी आआफनो क्षेत्रबाट योगदान गर्न सवैपक्षसंग आग्रह गरेको छ ।
साथै कपिलवस्तुको समृद्धि र विकासका लागि संचार क्षेत्रलाई सुदृढ बनाउदै सरकारी सेवा प्रवाहमा सहजता, सरलता र प्रभावकारी बनाउदै सुशासन सहितको दिगो विकासमा जोडदिन सम्पूर्ण सरोकारवालाहरुलाई आवहन समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्र तयार समितिका संयोजकको रुपमा पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, प्रदेश अध्यक्ष शोभाखर पन्थी, प्रदेश सचिव हरि अधिकारी, प्रदेश सदस्य शरद अधिकारी रहेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८० मंगलबार ००:००  ७ : ३४ बजे