१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत



काठमाडौं ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताउनुभएको छ ।

सोमवार काठमाण्डौमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोज’ विषयक अन्तक्रियामा अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै यस्तो बताउनुभयो । कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने उहाँको भनाइ छ ।

मन्त्री महतले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले इमानदार भएर काम गर्दा हिलो छ्याप्ने काम भएको बताउनुभयो । उहाँले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काममात्रै गरेको दाबी पनि गर्नुभयो ।

अर्थमन्त्री महतले राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताउनुभयो । उहाँले एकाध मानिसको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताउनुभयो । उहाँले करका दर हेरफेर गर्दा अर्थ सचिव, राजस्व सचिव,आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिवमात्रै बसेर निर्माण गरेको बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८० मंगलबार ००:००  ९ : १३ बजे