१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै



बुटवल ।
बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीवार बुटवल आउँदैछन् ।

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

दाहालसँगै नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

तल्लो स्टेसनबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेसनमा पुग्न सकिन्छ । केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

राजधानी स्थानान्तरण भएर निराश भएको बुटवललाई केबलकार सञ्चालनले मल्हम लगाउने अपेक्षा गरेको अध्यक्ष चन्द्र ढकालले बताए । आन्तरिक, भारतीय र तेस्रो मुलुकका बौद्ध धर्मका अनुयायीलाई लक्षित गरेर केबलकार स्थापना गरिएको ढकालले बताए ।

पर्यटकका लागि १५० बेडको सुविधासम्पन्न होटल, क्यासिनो, ७०० जनाभन्दा धेरै अटाउने सभाहल सहितको सुविधा समेत प्रयोग गर्न सकिने गरी तयारी गरिएको उनले बताए । ५ अर्ब लगानीमा बनेको केबलबारको अन्तिम विन्दुमा कामाख्या मन्दिर निर्माण गरिएको छ भने पाँचतारे होटल निर्माण अघि बढ्ने प्रक्रियामा छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८० बिहिबार ००:००  ९ : २१ बजे