४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पछिल्लो १२ घण्टामा पूर्वका धेरै ठाउँमा वर्षा, तराईमा गर्मी भने कायमै



काठमाडौं ।
यस वर्षको मनसुन नेपालको नजिकै आइपुगेको छ । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएकोमा अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने अवस्था बनेको हो ।

मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । गण्डकी प्रदेशभन्दा पूर्वतर्फ रहेका सबैजसो वर्षा मापन केन्द्रहरुले पानी परेको देखाएका छन् । पछिल्लो १२ घण्टामा दोलखाको सिँगटीमा झण्डै ६० मिलिमिटर वर्षा भएको छ । यस्तै, काठमाण्डौमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

पश्चिमको डडेल्धुरामा पनि वर्षा भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन ।

यस्तै,आज पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना कायमै रहेको र बाँकी भूभागमा मौसम बदली र वर्षासँगै गर्मी कम हुँदै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८० मंगलबार ००:००  ८ : ०७ बजे