४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुन्तला बेच्नुस्, अरब नजानुस् : कृषि मन्त्री भुसाल



स्याङ्जा ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले स्याङ्जाली कृषकहरुलाई व्यवसायिक सुन्तला खेती गरी उदाहरणीय बन्न र अरुलाई पनि सिकाउन आग्रह गर्नुभएको छ ।

स्याङ्जाको भीरकोटमा आयोजित सुन्तला सुपरजोनको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘स्याङ्जामा सुन्तलाको अधिक सम्भावना छ । सुन्तलाको व्यवसायिक उत्पादनमा लाग्नुस् । अरब नजानुस् ।’ अरबौंको सुन्तला उत्पादन हुने आफ्नो ठाउँ छोडेर सिमित पैसा कमाउन विदेश जानू मुर्खता भएको मन्त्री भुसालले बताउनुभयो । स्याङ्जा सुन्तला खेतीका लागि एक उत्कृष्ट ठाउँ भएको र सुन्तलाबाट नै स्याङ्जा र स्याङ्जालीको समृद्धि सम्भव रहेको बताउँदै उहाँले बाँझो जमिनको सदुपयोग गरी पशुपालन, फलफुल लगायतका व्यवसायिक कृषि उत्पादनमा लाग्न कृषक र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

तीनै तहका सरकारबिच सहकार्य भएमा मात्रै जनताले अनुभुती गर्ने गरी विकास र समृद्धि हासिल गर्न सकिने कृषि मन्त्री भुसालको भनाइ छ । बाँदर नियन्त्रणका लागि नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन भैसकेको बताउँदै उहाँले अब आवश्यक कानुन बनाएर कृषकलाई राहत हुने गरी काम गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । वन क्षेत्र आसपासका कृषकहरुलाई बाँदरले नखाने खेती लगाउन र स्थानीय सरकारलाई पनि कृषकको आवश्यकता अनुसार काम गर्न उहाँले सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको आयोजनामा भीरकोट ५ केराबारीमा आयोजित सुन्तला रोपण अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगर प्रमुख छायाराम खनाल, नेपाली काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी, सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष तारा अर्याल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्रमुख माधव लम्साल, परियोजनासँग सम्बन्धित कार्यालयका कर्मचारीहरु र स्थानीय कृषकहरुले सुन्तला खेती र यसको संभावनाको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

स्याङ्जाको भीरकोटमा करिब १५ हेक्टर क्षेत्रफलमा सुन्तलाको क्षेत्र विस्तार गरिएको सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा स्याङ्जामा १ अरब ३८ करोड बराबरको सुन्तला उत्पादन भएकोमा १ अरब भन्दा बढीको सुन्तला निर्यात भएको प्रधानमन्त्री कृषि आधिनिकिकरण परियोजना स्याङ्जाका प्रमुख माधव लम्सालले बताउनुभयो । स्याङ्जामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । प्रविधिमैत्री क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत थप ५० हेक्टर क्षेत्रमा र चक्लाबन्दी अन्तर्गत थप ४० हेक्टर क्षेत्रमा सुन्तला रोप्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको साझेदारीमा संचालित नवप्रवर्तन साझेदारी कोष मार्फत भीरकोट नगरपालिकाको वडा नं १ र ७ मा व्यवसायिक सुन्तला खेती कार्यक्रम सञ्चालनमा आएको छ । जस अन्तर्गत व्यवसायिक सुन्तला खेतीका लागि लाभग्राही कृषक छनोट भई उनीहरुलाई तालिम, बागवानी औजार वितरण, सिंचाई टंकी निर्माण, सिंचाई का लागि पाइप वितरण गरी करिब १० हजार विरुवा रोपण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०८० मंगलबार ००:००  ११ : ०२ बजे