४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुटवलको मनकामना डेरीको गम्भिर लापरबाही, मिठाईमा खानै नहुने वस्तुको मिसावट



बुटवल ।
बुटवलको तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भेटिएको छ । अनुगमनका क्रममा गुणस्तरहिन अखाद्य वस्तु मिसाएर मिठाई बनाउने गरेको पाइएको छ ।

गुणस्तरहिन र अखाद्य बस्तु मिसाएर मिठाई बनाएको गुनासो आएपछि अनुगमनका लागि पुगेको टोलीले मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन बस्तु फेला परेको थियो । यस अघि पनि कारबाहीमा परेको मनकामनामा यस पटक पनि अनुगमनमा जाँदा गम्भिर लापरबाही गरेको भेटिएको छ । अनुगमन टोलीले त्यहाँ बाट ठूलो परिणाममा अखाद्य वस्तु फेला पारी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, डेरी व्यवयासी संघ, नगर प्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका विभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि वितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरीहरुको अनुगमन गरेको थियो ।

सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी सामग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए । उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसवरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको जानकारी दिए । उनले थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताए ।

प्रकाशित मिति : ७ असार २०८० बिहिबार ००:००  ६ : २२ बजे