१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा एकीकृत समाजवादी



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् ।

एकीकृत समाजवादीका सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् ।

बिहीबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनुभयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।

सांसद पाण्डेले बजेटकै कारण सत्ता समिकरण भने नटुट्ने बताउनुभयो । तर, बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाई छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ८ असार २०८० शुक्रबार ००:००  ७ : ५० बजे