४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

किसानलाई अनुदानमा भैँसी वितरण



चितवन ।
चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नम्बर ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ वटा भैँसी वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए ।

उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागाडा र औषधिसमेत वितरण गरिएको बताए । चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ ।

समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले जानकारी दिए । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।

उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको बताए ।

यसैबीच, चितवनको रत्ननगरका किसानलाई व्यावसायिक बनाउन पुष्पखेती तालिम दिइएको छ । रत्ननगर नगरपालिका–९ को आयोजना र पुष्प विकास केन्द्र गोदावरी ललितपुरको प्राविधिक सहयोगमा आइतबार प्रशिक्षण दिइएको हो । सहभागी ५१ किसानलाई खेती गर्ने तरिका र बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : १२ असार २०८० मंगलबार ००:००  ९ : ०६ बजे