२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

किसानका गुनासो सुन्न मन्त्रालयमै गुनासो कक्षको स्थापना



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो व्यवस्थापन कक्षको सुरुवात गरेको छ । मानो रोपेर मुरी फलाउने सिजन सुरु भएकाले किसानलाई रासायनिक मल र अन्य कुनै पनि कृषि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले मन्त्रालयमै गुनासो कक्षको व्यवस्थापन गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले मंगलबार कक्षको सुरुवात गर्दै देशभरका किसानले राखेका समस्याको अब सिधै सुनुवाइ हुने बताए ।

सरकारले रासायनिक मल प्रशस्त रहेको बताए पनि देशभरका किसानले नपाएको गुनासो गरिरहेका छन् । त्यही खाली ठाउँ पुर्न र रासायनिक मल अभावको समस्यालाई समाधान गर्न गुनासो शाखा खोलिएको हो ।

मन्त्री भुसालले जिल्ला जिल्लाका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ शाखामा मौज्दात रहेको मलको विवरणसमेत सार्वजनिक गर्दै सोही अनुसार नभएको पाइए तुरुन्त गुनासो शाखामा फोन गर्न किसान र सरोकारवालालाई आग्रह गरे ।

किसानको गुनासो अनुसार मल नपाइएको खण्डमा तत् जिल्लाका शाखा, बदमासी गर्ने व्यक्ति या सहकारी जोकोहीलाई पनि कारबाही हुने मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले कुनै पनि समस्या भएका गुनासो शाखामा राखेर अधिकतम फाइदा लिन समेत किसानलाई अनुरोध गरे ।

दिइएका नम्बरमा फोन गर्दा ७७ जिल्लाका समस्या समाधान हुने उनको भनाई छ । त्यसको लागि पैसा नलाग्ने (टोल फ्री नम्बर) १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको व्यवस्था गरिएको छ । यस्तै [email protected] इमेल, gunaso.molad नामको फेसबुक र @hello_molad नामको ट्विटरमा पनि मन्त्रालयगत समस्या राख्न सकिने प्रबन्ध मिलाइएको छ । 

प्रकाशित मिति : १२ असार २०८० मंगलबार ००:००  १२ : ४० बजे