५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किए, एक युवाको ज्यान गयो



कपिलवस्तु ।
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको हो । बुधबार साँझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

गाउँपालिकाको हुलाकी सडक अन्तर्गत बद्धौरमा लु. ३४ प २२२२ र युपि ५५ वाइ २११३ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

दुर्घटनामा विजयनगर गाउँपालिकाका फिल्ड सहायक कर्मचारी विजयनगर गाउँपालिका वडा नं. २ निवासी बर्ष २८ का गिरिजा बाबु थापाको उपचारका क्रममा बुधबार राती निधन भएको प्रहरीले जनाएको छ ।

अन्य तीन जना घाइतेहरुको उपचार भइरहेको छ । घाइतेहरुमा विजयनगर गाउँपालिका वडा नं. ६ निवासी बर्ष २८ का महेन्द्र भर, वडा नं. ६ निवासी बर्ष ३० का मिलन मौर्या र भारत निवासी मृतक थापाका आफन्त दिपेन्द्र सिंह क्षेत्री रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

घाइतेहरु मध्ये दुई जनाको चन्द्रौटा सन्जिवनी सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल लगिएको र एक जनाको सन्जिवनी अस्पताल चन्द्रौटा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८० बिहिबार ००:००  ९ : २० बजे