१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशका ९८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच



काठमाडौं ।
विद्युतीकरणको विस्तारसँगै देशभर विद्युत उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख भन्दा बढी पुगेको छ । यो सँगै विद्युतमा पहुँच पुग्ने जनसंख्या पनि ९८ प्रतिशत पुगेको देखाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको क्रममा सार्वजनिक गरिएको विवरण अनुसार उसको मातहका ग्राहकको संख्या ५१ लाख ३० हजार पुगेको छ भने सामुदायिक संस्थाबाट विद्युत वितरण भइरहेका ग्राहकहरू ५ लाख १० हजार रहेका छन् । जबकि, आर्थिक वर्ष (आव) २०७८/७९ मा प्राधिकरणका ग्राहक ४७ लाख ७० हजार रहेकोमा आव २०७९/८० मा ७.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत एवं सौर्य विद्युत् ३ प्रतिशत गरी ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको छ । यसलाई आगामी दुई वर्षभित्र शतप्रतिशत नै पुर्याउने लक्ष्य लिइएको छ । अब मुगु र हुम्ला केन्द्रीय प्रणालीमा जोडिन बाँकी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन दातृ निकायको सहयोगमा ५० अर्ब रुपैयाँ बराबरकोे लगानी सुनिश्चित गरी काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८० शुक्रबार ००:००  ४ : ३५ बजे