१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी



तनहुँ ।
तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन् । ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ,’ उनले भनिन् ।

उनले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरेर सात लाख बढी आम्दानी गरेको सनुाइन् । ‘बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ,’ उनले भनिन् । उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताइन् ।

उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छन् ।

बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ । उनले उन्नत जातको बोयर बोकासमेत पालेकी छन् । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले जानकारी दिइन् । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ ।

किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिइन् । उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ९ : १५ बजे